घाम अस्ताएपछि भारतबाट विद्युत् नआउने– उद्योग मात्र होइन, घर-घरमा पनि लोडसेडिङको जोखिम

जनसंकेत डटकम 2025-03-14

आइतबारदेखि भारतबाट दैनिक १२ घण्टा मात्र विद्युत आयात गर्न पाइने भएपछि नेपालमा औद्योगिक क्षेत्रमा लोडसेडिङको जोखिम बढेको छ ।नेपालले हालसम्म दैनिक २० घण्टा विद्युत् आयात गरिरहेकोमा अब सोलार आवर (बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म) मात्र आयात गर्न पाउने छ ।

हिउँदमा नदी तथा खोलामा पानीको बहाव घट्दा आन्तरिक उत्पादन कम हुने र मागको अनुपातमा विद्युत आपूर्ति नपुग्ने भएकाले भारतबाट आयात गरिँदै आएको थियो ।

गत मंसिरमा भारतले मार्च १५ सम्म दैनिक २० घण्टा र मार्च १६ देखि जुन ३० सम्म सोलार आवरमा मात्र आयात गर्न अनुमति दिएको थियो । नेपाल विद्युत प्राधिकरणले मार्च १६ पछि पनि २० घण्टा विद्युत आयात गर्न दिन भारतलाई आग्रह गरेको छ ।'भारतसँग सकारात्मक छलफल भइरहेको छ । अझै केही वर्षसम्म हिउँदमा भारतबाटै विद्युत आयात गर्नुपर्ने बाध्यता छ,' प्राधिकरण स्रोतले भन्यो ।

हाल नेपालको आन्तरिक माग १९०० मेगावाट रहेकोमा स्वदेशी उत्पादन एक हजार मेगावाट मात्र छ । बाँकी माग पूरा गर्न औसत ५०० मेगावाट विद्युत आयात गरिएको छ । सोलार आवरमा मात्र विद्युत आयात गर्नुपरेमा औद्योगिक क्षेत्रमा रातभर लोडसेडिङ गर्नुपर्ने अवस्था आउने देखिएको छ ।

'स्वदेशी उत्पादन सुख्खायामका कारण निरन्तर घट्दो छ । अहिलेसम्म पीक आवरबाहेक भारतबाट विद्युत आइरहेकाले औद्योगिक क्षेत्रमा केही घण्टा मात्र लोडसेडिङ गरेर व्यवस्थापन गरिएको थियो,' प्राधिकरणका एक कर्मचारीले बताए ।

यसैबीच, भारतको केन्द्रीय विद्युत प्राधिकरणले नेपाल र भारतको एनटीपीसी विद्युत व्यापार निगम लिमिटेडबीच भएको हिउँदमा २२० मेगावाट विद्युत खरिदसम्बन्धी सहमतिलाई हालसम्म स्वीकृति नदिएको कारण थप विद्युत आयात अनिश्चित बनेको छ ।

पछिल्लो समय नेपाल-भारत द्विपक्षीय विद्युत विनिमय समितिको बैठकमा विद्युतको भाउ १ दशमलव ५ प्रतिशत बढाउने सहमति भएको विषयमा पनि प्रश्न उठेको छ ।

आगामी अप्रिलदेखि लागू हुने गरी प्रति युनिट मूल्य निर्धारण गरिएको छ, जसअनुसार १३२ केभी प्रसारण लाइनबाट आयात हुने विद्युतको मूल्य प्रतियुनिट ८.१ भारु (१२ रुपैयाँ ९६ पैसा) तय गरिएको छ ।

प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले सरकारलाई थाहै नदिई एकलौटी रूपमा उक्त महसुल वृद्धि गर्न सहमति दिएका थिए । सो विषयलाई लिएर सरकारले घिसिङलाई स्पष्टीकरण पनि सोधेको छ ।

 

Related Post

Advertisement